0 comments

दिदीलाई लाठी प्रहार

Published on in

सतासीधाममा एक व्यक्तिले आफ्नै दिदीलाई लाठी प्रहार गरी घाइते बनाएका छन् ।
बुधबार सामान्य बिवाद हुँदा सतासीधाम–६ का ४६ वर्षीय सूर्य लिम्बूले मोरङ मधुमल्ला–४ बस्ने दिदी मनमायाँ लिम्बूलाई लाठी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सूर्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

0 comments

चुलाचुलीमा स्यालो ट्यूववेल

Published on in

दक्षिण इलामको चुलाचुली गाविसका विभिन्न वडामा स्यालो ट्युववेल गाड्ने कार्यले तिव्रता पाएको छ ।
भुमिगत जलस्रोत विकास समिति शाखा कार्यालय विराटनगर र चुलाचुलीस्थित नमुना भुमिगत जल उपभोक्ता समिति चुलाचुली–६ को सहकार्यमा आर्थिक वर्ष ०६७÷०६८ देखि थालिएको सो कार्यले तिव्रता पाएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
गत आर्थित वर्षमा परीक्षणका लागि २ ओटा स्यालोट्युवेल गाडिएकोमा यस आर्थिक वर्षमा सो संख्या ४७ पुगेको बताइएको छ । चुलाुलीका ३, ४, ६ र ७ नम्बर वडाहरुमा गाडिएका स्यालो ट्युववेलका माध्यमबाट हालसम्म त्यहाँको १ सय ८८ विगाह कृषि योग्य जमिनमा सिंचाई सुविधा पुगेको समितिका सह–सचिव छविराज ढकालले बताए ।
समितिका अनुसार चुलाचुली गाविस भर ५ सय संख्यामा स्यालो ट्युववेल गाड्ने लक्ष्य रहेको छ । त्यस्तै भुमिगत जलस्रोतकै सहयोगमा गाविसका विभिन्न स्थानहरुमा चुरे भु–भाग छेउछाऊ डीप ट्युववेल गाड्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । डीप ट्युववेलका लागि चुलाचुली–६ का ८० घर परिवारले १ लाख ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गिरीको भनाई छ ।
वडा नम्बर ६ मा डीप ट्युववेलको परीक्षण कार्य पछि क्रमशः सम्भावित वडाहरुमा यो प्रविधि पु¥याउने लक्ष्य समितिको रहेको छ । एक डीप ट्युववेलको मद्दतले ८० देखि १ सय बिगाह जमिनमा सिंचाई गर्न सकिने भुमिगत
जलस्रोत विकास समितिले जनाएको छ । भुमिगत जलस्रोत र उपभोक्ता समिति बीच गत आर्थिक वर्षमा भएको सम्झौता बमोजिम कार्य गर्नसके २ करोड बराबरको लागतमा सिंचाई पूर्वाधार बन्ने बताइन्छ ।

0 comments

खस क्षेत्रीद्वारा तीन दिन बन्द

Published on in

बन्द अघिल्लो दिन राँके जुलुस गर्र्दै झापाको दमकस्थित गणतन्त्र चौकमा खस क्षेत्रीका समर्थकहरु । फोटो –ओमाङ
नयाँ बन्ने संविधानमा खसक्षेत्रीहरुलाई पनि सुचिकृत गर्नुपर्ने सहितका मागहरु अघि सार्दै खस क्षेत्रीहरुले बुधबार साँझ दमकमा राँके जुलुश निकालेका छन् ।
खस क्षेत्रीहरुलाई संविधानमा नै आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रात्री बस काउन्टरबाट शुरु भएको जुलुश गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई खसक्षेत्री एकता समाज दमक नगर अध्यक्ष गोविन्दबहादुर बस्नेत, नगर सचिव राम थापा, खसक्षेत्री युवा अगुवा रवि न्यौपाने र महिला केन्द्रीय उपाध्यक्ष मन्दरा पौडेलले धारणा राखेका थिए । 
उनीहरुले आफूहरुका माग पूरा गर्न सरकार र संविधान सभालाई चेतावनी दिदै कडा किसीमका संघर्षका कार्यक्रम सार्वजनिक गरे ।

0 comments

गुप्तालाई डेढ वर्ष कैद र ८४ लाख जरिवाना

Published on in

सूचना तथा सञ्चारमन्त्री  तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको छ ।
चार वर्षदेखि सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले अन्तिम फैसला सुनाएको हो । नेपालमा बहालावाला मन्त्री जेल गएको यो पहिलो घटना हो ।
‘प्रतिवादी जयप्रकाशप्रसाद गुप्तालाई एक वर्ष ६ महिना कैद हुने ठहर भएकाले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसेको दिन कटाई बाँकी कैदको लगत कसी कानुन बमोजिम असुल गर्नु गराउनु,’ सर्वोच्चको फैसलामा भनिएको छ ।
पुस २५ गते हुने भनी एक महिनाअघि नै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले फैसलाको मिति पुस २६ गते तोके पनि ‘फैसलाको पूर्ण पाठ तयार गर्न नभ्याइएको’ भन्दै फागुनमा सारिएको हो । फैसला नजिक पुग्दा गुप्ता भने विवादित बनिरहेका थिए । २०६४ कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन । २०६६ असार २८ गतेबाट सुनुवाईका लागि पेसी चढाइए पनि त्यसको साढे दुई वर्षपछि मात्रै सुनुवाई सकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाई दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
कांग्रेस राजनीति हुँदै मूलधारको राजनीति प्रवेश गरेका गुप्ता पछिल्लो पटक क्षेत्रीय (मधेस) राजनीतिमा सकृय थिए । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार उनी पटक–पटक गरी तीन पटक सञ्चार र एकपटक कृषि मन्त्री भएका थिए । भ्रष्टाचार ठहरे लगत्तै उनले मौखिक रुपमा आफूले राजीनामा दिएको बताएका छन् भने आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।

0 comments

झापाको लखनपुरमा आगलागी

Published on in

झापाको लखनपुरमा मंगलबार बिहान एक घरमा आगलागी भएको छ । आगलागीमा एक लाख रुपैंया भन्दा बढीको क्षति भएको छ । लखनपुर–१ को मंगलबारेका प्रकाश लिम्बुको काठको घरमा बिहान साढे आठ बजेतिर भएको आगलागीबाट फर्निचर, लत्ताकपडा लगायतका सामान जल्दा सो बराबरको क्षति भएको हो ।
दमकबाट गएको दमकल, प्रहरी र स्थानीयबासी सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । छिट्टै नियन्त्रणमा आएकोले आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको बताइएको छ । पूजा गर्न सल्काएको अगरबत्तीबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।